News and Notices


आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रमको सैद्धान्तिक छलफल

Submitted By : आर्थिक मामिला तथा योजना मन्त्रालय

आज मिति २०७८ जेठ ३ गतेका दिन गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा प्रदेश सरकारका सचिवज्यूहरुको सहभागितामा आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट तथा कार्यक्रमको छलफल गरिएको छ। यस छलफलमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई बढी नतिजामुखी,  कार्यान्वयनयोग्य र प्रभावकारी बनाउन अबलम्बन गर्नुपर्ने रणनीतिका बारेमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवज्यूले प्रस्तुत गर्नुभएको थियो।

छलफलका क्रममा प्रदेश सरकारका सचिवहरुद्वारा आगामी बर्षमा आफ्नो मन्त्रालय र निकायबाट प्रस्ताव गरिएका कार्यक्रमहरुको उपादेयता, आवश्यकता र औचित्यका साथै व्यवहारिक कठिनाई र ती कठिनाईलाई के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो।

निमित्त प्रमुख सचिव श्री रामचन्द्र ढकालज्यूले बजेट तथा कार्यक्रमका विविध पक्षमा चर्चा गर्दै यसको प्रभावकारीता नतिजाबाट देखिने भएकाले सामान्य र नियमित प्रकृतिका भन्दा प्रभावकारी योजना तर्जुमामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवज्यूबाट गण्डकी प्रदेश आर्थिक कार्यविधि ऐन, २०७५ अनुसार प्रदेश संसदमा बजेट प्रस्तुत गर्नु भन्दा १५ दिन अगावै बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्नुपर्ने, बजेट वक्तव्यसँगै विनियोजन विधेयक र आर्थिक विधेयकका साथै चालू आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरण समेत पेश गर्ने प्रावधान भए अनुसार मन्त्रालयले सोही बमोजिम तयारी गरिरहेको जानकारी गराउनुभएको थियो। उक्त कार्यक्रममा आगामी हप्ता सबै विषयगत मन्त्रालय र निकायहरुसँग बजेट तथा कार्यक्रमहरूका सम्बन्धमा भर्चुअल विधिबाट प्रारम्भिक छलफल हुने जानकारी गराईएको थियो।

 

रमेश शर्मा

उपसचिव तथा प्रबक्ता

२०७८।२।३